सुनसरीको सीमा क्षेत्रका विद्यालयमा एपीएफको सचेतना कार्यक्रम

Logo
Popular News आइतबार, कार्तिक २४, २०८२

इनरुवा, २३ कार्तिक । सीमा क्षेत्रका बालबालिकालाई दुव्र्यसनबाट जोगाउँदै जिम्मेवार नागरिक बनाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले लौकहीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सचेतना कक्षा संचालन गरेको छ।

लौकही छोटी भन्सारसँग जोडिएको उक्त विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी शुक्रबार सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो। पछिल्लो समयमा लागुऔषध सेवनकर्ताको ट्रान्जिट पोइन्ट बन्दै गएको लौकही नाकालाई लक्षित गर्दै सशस्त्र प्रहरीले विद्यालय केन्द्रित कार्यक्रम अघि बढाएको हो।

विद्यार्थी केन्द्रित उक्त सचेतना कक्षामा सशस्त्र प्रहरीले राजश्व चुहावट नियन्त्रणमा आम नागरिकको भूमिका, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको जिम्मेवारी, साथै सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी र लागुऔषध कारोबार नियन्त्रणका विषयमा जानकारी गराएको थियो।

सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीका प्रमुख एसपी निर्मल थापाका अनुसार, “सीमा क्षेत्रका विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालनको उद्देश्य विद्यार्थीहरूलाई कुलत र दुव्र्यसनबाट टाढा राख्दै उनीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्नु हो।”

थापाले विद्यालय शिक्षाले विद्यार्थीको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सशस्त्र प्रहरीले सीमा क्षेत्रका विद्यालयहरूमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। उनले सशस्त्र प्रहरीले सिमावर्ती बस्तीहरूमा पनि “सशस्त्र प्रहरी समुदायसँग” कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।

थापाका अनुसार, नम्बर ४ गण अन्तर्गत हाल ९ वटा बिओपी (Border Out Post) र २ प्रस्तावित सीमा सुरक्षा गुल्म रहेका छन्। सुनसरी जिल्लाको करिब ६१.०९ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800