इनरुवा, २९ कार्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर भइरहेको मतदाता नामावली संकलनको म्याद थपिएको छ।
निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले नाम दर्ता तथा अद्यावधिकप्रति नागरिकहरूको सहजताका लागि दर्ता अवधि पाँच दिन थप्ने निर्णय गरेको हो। आयोगका अनुसार अब मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म समय पाउनेछन्।
यसअघि आयोगले असोज ९ गतेको निर्णयअनुसार दर्ता अवधि कात्तिक ३० गतेसम्म सीमित गरेको थियो। आयोगका अनुसार कात्तिक २७ गतेसम्म देशभरबाट २ लाख ५७ हजार ५०५ नागरिकले नाम दर्ता गराइसकेका छन्।
थप गरिएको अवधिमा पनि नागरिकहरूले राष्ट्रिय परिचय पत्र प्रयोग गरी दर्ता गराउन सक्नेछन्। साथै प्रि–रजिस्ट्रेसन सिस्टमबाट पहिलेझैँ अनलाइन आवेदन दिने व्यवस्था यथावत् रहने आयोगले जनाएको छ।