इनरुवा, ३० फागुन। सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका दीपक कुमार साहलाई क्षेत्रवासीले विभिन्न सुझाव दिन थालेका छन्।
निर्वाचित भएपछि जनतालाई धन्यवाद दिन गाउँघर पुग्दा स्थानीयले विकास र सुशासनलाई बलियो बनाउने विषयमा आफ्ना धारणा र अपेक्षा व्यक्त गरेका हुन्।
सांसद साह इनरुवा–४ को हनुमान चोक तथा मिलन टोल पुग्दा त्यहाँका स्थानीयवासीले विभिन्न विषयमा सुझाव दिएका थिए। स्थानीयले नयाँ जनप्रतिनिधिले सुशासन, विकास र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्।
उनीहरूले २०४६ सालदेखि हालसम्मका नेता तथा साना–ठूला ओहदामा रहेका कर्मचारीहरूको सम्पत्ति निष्पक्ष रूपमा छानबिन गरी अवैध सम्पत्ति सरकारीकरण गर्नुपर्ने माग गरेका छन्। त्यस्तै शिक्षा र स्वास्थ्य सेवा सबै नेपालीका लागि निःशुल्क बनाइनुपर्ने सुझाव पनि दिएका छन्।
स्थानीयवासीले सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउने व्यवस्था लागू गर्नुपर्ने, सुनसरी खोलाको दुवैतर्फ बाँध निर्माण गरी बाढी नियन्त्रणको स्थायी समाधान गर्नुपर्ने बताएका छन्।
यसैगरी युवालाई रोजगारीको अवसर सिर्जना गर्न, किसानलाई मल–बीउ तथा सिँचाइको व्यवस्था गर्न तथा भ्रष्टाचार नियन्त्रण गरी जनतालाई छिटो र प्रभावकारी सेवा दिने प्रणाली लागू गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।
स्थानीयवासीका अनुसार नवनिर्वाचित सांसद साहबाट विकास, सुशासन र जनताको हितमा ठोस काम हुने अपेक्षा गरिएको छ।