इनरुवा, ७ बैशाख । सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा देवकी सरदारको घरमा खानतलासी गर्दा किराना पसल सञ्चालन भइरहेको कोठाभित्र लुकाइ राखिएको अवस्थामा ७५।३३ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार तथा भारतको विहार राज्य अररिया जिल्ला, तिनखम्बा बेलहाका २६ वर्षीय सहवाज आलम रहेका छन्।
प्रहरीले सहवाज आलमले प्रयोग गरेको BR 38 AG 0559 नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ। बरामद गाँजा, पक्राउ परेका व्यक्तिहरू र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।