इनरुवा, १३ वैशाख । इनरुवा नगर प्रमुख केदार भण्डारीले आगामी आर्थिक वर्षदेखि निजी विद्यालयहरूले आफ्ना शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको तलब अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनद्वारा इनरुवामा आयोजित निजी विद्यालयमा कार्यरत शिक्षकहरूको सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रमुख भण्डारीले सरकारी विद्यालयहरूले सबै विद्यार्थी धान्न नसक्ने अवस्थामा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले भने, “निजी विद्यालयहरूले शिक्षकहरूलाई समयमा तलब नदिएको गुनासो आएको छ। त्यसैले अबदेखि अनिवार्य रूपमा बैंक खातामार्फत तलब भुक्तानी गर्नुपर्छ।”
यद्यपि, सरकारले तोकेको तलब नदिने निजी विद्यालयमाथि कस्तो कारबाही गरिने भन्ने विषयमा उनले उल्लेख गरेनन्।
त्यसैगरी, उनले विद्यालय सञ्चालन समयबारे पनि आफ्नो धारणा राख्दै शुक्रबार आधा दिन कक्षा सञ्चालन गर्ने र शनिबार विदा दिने, अन्य दिन नियमित रूपमा विद्यालय सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। हालको पाठ्यक्रम अनुसार हप्तामा दुई दिन विदा हुँदा पाठ्यक्रम पूरा गर्न कठिन हुने उनले बताए।