तत्कालीन जिल्ला पंचायतका लागि जग्गा दान गर्ने स्व. सभापति यादव सम्मानित

स्व. सभापति यादवले वि.सं. २०२१ सालमा तत्कालीन जिल्ला पंचायत सुनसरीको कार्यालय भवन निर्माणका लागि १९ कठ्ठा ९ धुर जग्गा दान गरेका थिए।
Logo
Popular News शनिबार, जेठ १६, २०८३

इनरुवा, १६ जेठ । इनरुवा नगरपालिकाले सुनसरी जिल्लाको तत्कालीन जिल्ला पंचायतको भवन तथा परिसर निर्माणका लागि जग्गा दान गरी महत्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय सभापति यादवलाई मरणोपरान्त सम्मान गरेको छ।

इनरुवा डेको अवसरमा आयोजित विशेष कार्यक्रममा नगरपालिकाले सम्मानपत्र र दोसल्लासहित उक्त सम्मान स्व. यादवका छोरा भुपेन्द्र सिंह यादवलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा बोल्दै  यादवले राज्य तथा स्थानीय तहबाट प्राप्त सम्मानले परिवारलाई गौरवान्वित बनाएको बताए।

उनका अनुसार स्व. सभापति यादवले वि.सं. २०२१ सालमा तत्कालीन जिल्ला पंचायत सुनसरीको कार्यालय भवन निर्माणका लागि १९ कठ्ठा ९ धुर जग्गा दान गरेका थिए। जिल्लाको प्रशासनिक संरचना सुदृढ बनाउने, सरकारी कार्यालय स्थापना गर्ने तथा समग्र जिल्लाको विकासमा टेवा पुर्‍याउने उद्देश्यले जग्गा दान गरिएको उनले जानकारी दिए।

यादवले इनरुवालाई सदरमुकामका रूपमा स्थापित गर्न तथा जिल्लाको केन्द्रविन्दुको रूपमा विकास गर्न सहयोग पुग्ने विश्वासका साथ उनका बुवाले उक्त जग्गा दान गरेको बताए।

छोरा यादवले तत्कालीन जिल्ला पंचायत कार्यालय तथा हालको जिल्ला समन्वय समिति सुनसरीको कार्यालयमा जग्गादाता आफ्ना पिता स्व. सभापति यादवको तस्वीरसहितको ताम्रपत्र राख्नुपर्ने माग गरेका छन्। उनले जग्गादानकर्ताको योगदानलाई स्थायी रूपमा स्मरण र सम्मान गर्न कार्यालय परिसरमा तस्वीरसहितको ताम्रपत्र स्थापना गर्नुपर्ने बताएका हुन्।

नगरपालिकाले जिल्लाको विकास र सार्वजनिक हितका लागि योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मान गर्ने क्रममा स्व. सभापति यादवको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800