इनरुवा, १३ साउन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको तर्फबाट प्रतिबद्धता जनाउँदै घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको र न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको भन्दै घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। ूसरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित राख्नु, कसुरदारलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउनु हो, भन्दै उनले सरकारले यो कार्य यथाशीघ्र सम्पन्न गर्ने बताएका छन्।
प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै एकअर्काप्रति प्रेम, सम्मान, विश्वास र सहिष्णुता कायम राख्न अपिल गरेका छन्। उनले सामाजिक सद्भाव कायम राख्दै कुनै पनि उत्तेजित हुने वा गराउने गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह गरेका छन्।
साथै, उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्रीले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै सो दायित्व पूरा गर्न सरकार दृढ रहेको बताएका छन्।