कप्तानगञ्ज गोलीकाण्ड : ओमप्रकाश र जयप्रकाशको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगियो, आजै अन्तिम संस्कार गरिने

Logo
Popular News शुक्रबार, साउन १५, २०८३

इनरुवा, १५ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर लगिएको छ।

केही समयअघि विराटनगरस्थित न्यूरो अस्पतालको शवगृहबाट परिवारजनले प्रहरीको समन्वयमा शव बुझेका हुन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जनाइएको छ।

पोष्टमार्टम सम्पन्न भएपछि आजै दुवै मृतकको अन्तिम संस्कार गर्ने तयारी गरिएको छ। बिहीबार गृहमन्त्री र पीडित परिवारबीच भएको सहमतिअनुसार शुक्रबार दिउँसो २ बजे अन्तिम संस्कार गर्ने उल्लेख भए पनि केही प्रक्रियागत कारणले समय ढिलो भएको बुझिएको छ।

अस्पताल परिसरमा मृतकका आफन्त, प्रहरी तथा सरोकारवालाको उपस्थिति रहेको छ। सम्भावित संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने तथा पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

गत आइतबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा प्रहरीको गोली लागेर घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो। आज दुवैको अन्तिम संस्कार गरिने तयारी गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800