कांग्रेस विभाजनबाट रोमाञ्चित हुन सक्दिनँ : शेखर कोइराला

पार्टीको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै कोइरालाले कांग्रेसको ‘पटकथा’ कहाँबाट र कसले लेखिरहेको छ भन्ने आफूलाई थाहा नभएको बताए।
Logo
Popular News बिहिबार, आश्विन ०१, २०८३

इनरुवा,१ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन रोक्दै सहमति, सहकार्य र एकताको बाटो खोज्नुपर्ने बताएका छन्। उनले कांग्रेस अहिले गम्भीर मोडमा रहेको भन्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले कुनै पनि राष्ट्रको जीवनमा उतार–चढाव र सफलता–बिफलता आउने भए पनि नेतृत्वले समझदारी, सहमति र सहकार्यका माध्यमबाट अघि बढे राष्ट्र जोगाउन सकिने बताएका छन्। नेपाल अहिले त्यस्तै चौबाटोमा उभिएको उल्लेख गर्दै उनले मुलुकको भविष्य र अस्तित्वप्रति चिन्ता सिर्जना भएको बताएका छन्।

कोइरालाले नेपाली कांग्रेसको इतिहास संघर्ष, त्याग र बलिदानसँगै नेपाललाई आधुनिक राष्ट्र निर्माण गर्ने र नागरिकको सर्वोच्चता कायम गर्ने अभियानसँग जोडिएको बताए। बीपी कोइराला लगायत पार्टीका संस्थापक नेताहरूको राजनीतिक, नैतिक, सामाजिक तथा सांस्कृतिक जीवनदर्शन कांग्रेसजन मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणादायी रहेको उनको भनाइ छ।

पार्टीको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै कोइरालाले कांग्रेसको ‘पटकथा’ कहाँबाट र कसले लेखिरहेको छ भन्ने आफूलाई थाहा नभएको बताए। यसबाट आफूलाई पीडा भएको र आफ्नो पीडासँग कांग्रेसका धेरै कार्यकर्ताको भावना जोडिएको उनको भनाइ छ।

उनले पार्टी एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। कांग्रेसको आसन्न दुई महाधिवेशनबाट राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने भन्दै त्यसलाई रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा उनले जोड दिए।

‘कांग्रेस हुँ’ भन्नेमा गर्व गर्नेहरू मानसिक रूपमा कमजोर र निरीह हुन नहुने बताउँदै कोइरालाले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। विगतमा आफूहरूले विरासतमा पाएको कांग्रेस अजेय रहेको स्मरण गर्दै उनले अहिले पार्टी विभाजित र गन्तव्य हराएको माझीजस्तो भएको टिप्पणी गरे।

प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति राजनीतिक दलहरू संवेदनशील हुनुपर्नेमा पनि कोइरालाले जोड दिए। रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट प्रभावित नागरिकको पीडा बुझ्नुपर्ने भन्दै उनले चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकप्रति कांग्रेसले मानवीय संवेदना देखाउनुपर्ने बताए।

कानुन र विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनासँग खेलवाड गर्न नहुने उनको भनाइ छ। कांग्रेस सहमति, सहकार्य र एकताबद्ध भएर नागरिकको चहराइरहेको घाउमा मल्हम बन्नुपर्ने उनले बताए।

कोइरालाले पार्टीभित्र को सही र को गलत भन्ने पक्षमा आफू उभिन नचाहेको पनि स्पष्ट पारे। आफ्नै साथीभाइप्रति असुरक्षा, अपमान र घृणा सिर्जना गरेर निर्माण गरिएको कांग्रेसको महलमा आफू बस्न नसक्ने उनको भनाइ छ।

‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भन्दै उत्सव मनाउने’ संस्कार कांग्रेसको परम्परा र संस्कृतिभन्दा फरक रहेको उनले बताए।

विश्व राजनीतिले नेपालमा गहिरो प्रभाव पारिरहेको अवस्थामा बीपी कोइरालालगायत संस्थापक नेताहरूको योगदान स्मरण गर्दै कोइरालाले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने बताए।

मध्यमार्ग कठिन भए पनि सत्य र कांग्रेसको जीवनदर्शनको बाटो त्यही भएको उनको भनाइ छ। आफू कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने कांग्रेसको सिपाही भएको उनले बताए।

कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट पार्दै कांग्रेसको सफलता सबैको एकताबद्ध प्रयासबाट मात्र सम्भव हुने बताए। कांग्रेस कार्यकर्ताको विवेक मरेको छैन भन्दै उनले पार्टी एकताका लागि गाउँ, टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका सबै नेता–कार्यकर्तालाई दृढ संकल्पका साथ अभियानमा जुट्न आह्वान गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800