इनरुवा, २ असोज । कानुनी विषयमा स्नातकोत्तर (एलएलएम) गरेका राम खेलौन मेहताको कृति ‘आधारभूत कानुनी अभ्यास दर्पण’ प्रकाशनमा आएको छ ।
कानुनी ज्ञानलाई सरल, व्यावहारिक र उपयोगी ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको पुस्तकमा कानूनका विभिन्न आधारभूत पक्षलाई सहज र स्पष्ट भाषामा समेटिएको लेखक मेहताले बताउनुभएको छ ।
पुस्तक न्यायिक समिति, मेलमिलापकर्ता, लेखापढी व्यवसायी, कानूनका अभ्यासकर्ता तथा कानुनी सेवाग्राहीका लागि उपयोगी हुने मेहताको भनाइ छ । स्थानीय तहका न्यायिक समितिका पदाधिकारी, कानूनका विद्यार्थी, कानुनी अभ्यासकर्ता तथा आम पाठकलाई समेत पुस्तकले आधारभूत कानुनी विषय बुझ्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कानूनका सामान्य सिद्धान्त तथा व्यावहारिक अभ्याससँग सम्बन्धित विषयलाई सहज भाषामा प्रस्तुत गरिएकाले कानुनी क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ ।
मेहता हाल सुनसरी जिल्ला अदालतमा शाखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । कानुनी क्षेत्रको व्यावहारिक अनुभव र अध्ययनलाई आधार बनाएर विभिन्न विषयको संकलन तथा लेखन गरी पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो ।