जिल्ला अस्पताल सुनसरी : छानबिन समिति गठन, प्रतिवेदन नआएसम्म टीकाटिप्पणी नगर्न आग्रह

Logo
Popular News शुक्रबार, आश्विन २३, २०८३

इनरुवा, २३ असोज । प्रसव पीडासहित अस्पताल पुगेकी गर्भवती महिलाको उपचार तथा प्रेषणसम्बन्धी घटनाबारे जिल्ला अस्पताल सुनसरीले स्पष्टीकरण दिएको छ। अस्पतालले घटनाको छानबिन गर्न समिति गठन गरिएको जनाउँदै समितिको प्रतिवेदन नआएसम्म घटनाबारे अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेको छ।

अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कागजातको अभावमा महिलालाई उपचारबाट वञ्चित नगरिएको दाबी गरिएको छ।

विज्ञप्तिअनुसार असोज २१ गते राति अस्पताल पुगेकी गर्भवती महिलाको हेमोग्लोबिनको मात्रा ८ ग्राम प्रतिडेसिलिटर रहेको र रक्तस्रावको जोखिमसमेत देखिएकाले उनलाई उच्च जोखिममा राखेर निगरानी गरिएको थियो।

अस्पतालका अनुसार उच्च जोखिमसम्बन्धी सहमतिपत्रमा बिरामी पक्षले हस्ताक्षर गर्न असहमति जनाएपछि निःशुल्क सेवा उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य संस्थामा जान सल्लाह दिइएको थियो।

अस्पतालले बिरामीका परिवारले उठाएका गुनासालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै घटनाबाट पाठ सिकेर आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरिएको जनाउँदै अस्पतालले समितिको प्रतिवेदन आएपछि आवश्यक निष्कर्ष निकाल्न सकिने जनाएको छ। साथै, छानबिन प्रक्रिया पूरा हुनुअघि भ्रमपूर्ण समाचार सम्प्रेषण तथा अनावश्यक टीकाटिप्पणी नगर्न अस्पतालले आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800