इनरुवा, २९ असोज । जिल्ला प्रशासन कार्यालय सुनसरीले खसीबोकाको मासुको मूल्य प्रतिकेजी अधिकतम १ हजार १ सय रुपैयाँ कायम गरेको छ।
खसीबोकाको मासुको मूल्य अचानक बढेको भन्दै उपभोक्ताबाट उजुरी तथा गुनासो प्राप्त भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २९ गते सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म जिल्लाभर खसीबोकाको मासु प्रतिकेजी अधिकतम १ हजार १ सय रुपैयाँमा बिक्रीवितरण गर्न अनुरोध गरेको छ।
गत माघ महिनामै खसीबोकाको मासुको उपभोक्ता मूल्य प्रतिकेजी १ हजार १ सय रुपैयाँ कायम भएको र मूल्य वृद्धि गर्नुपर्ने उचित आधार नरहेको प्रशासनले जनाएको छ। केही मासु व्यवसायीले समेत प्रतिकेजी १ हजार १ सय रुपैयाँमा मासु बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेको सूचनामा उल्लेख छ।
प्रशासनले तोकिएको मूल्यभन्दा बढी र अनुचित रूपमा मूल्य लिएर मासु बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
दशैँको समयमा खसीबोकाको मासुको माग बढ्ने भएकाले उपभोक्तालाई सहज र उचित मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले प्रशासनले मूल्यसम्बन्धी सूचना जारी गरेको हो।
