इटहरीबाट ब्राउन सुगरजस्तो पदार्थसहित तीन जना पक्राउ

Logo
Popular News शनिबार, कार्तिक ०१, २०८३

इनरुवा, ३१ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कबाट ब्राउन सुगरजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार असोज ३० गते राति करिब ९ बजे बसपार्कस्थित सुनौलो सेकुवा कर्नरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा बसेका तीन जनालाई खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने ०.४२ ग्राम पदार्थ र नगद ४ हजार ३३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो. नजाम रहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरी र बसपार्कस्थित सीआरभीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बरामद पदार्थ तथा नगदसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800