बाराको फेटामा अस्पताल उद्घाटन विवाद : प्रहरीको गोली लागेर किशोर गम्भीर घाइते, १० भन्दा बढी मोटरसाइकलमा आगजनी

Logo
Popular News शनिबार, कार्तिक १५, २०८३

इनरुवा १४, कार्तिक । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल भवन उद्घाटन गर्ने विषयलाई लिएर भएको विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक किशोर गम्भीर घाइते भएका छन्। घटनाका क्रममा प्रहरीको लाठीचार्जबाट स्थानीयसमेत घाइते भएका छन् भने आक्रोशित भीडले अस्पताल भवनमा तोडफोड गर्नुका साथै १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेको बताइएको छ।

शनिबार अस्पताल उद्घाटन कार्यक्रमलाई लिएर स्थानीय बासिन्दा र गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी पक्षबीच विवाद सुरु भएको थियो। संघीय सरकारको लगानीमा निर्माण भएको अस्पताल भवनमा आवश्यक जनशक्ति, उपकरण तथा स्वास्थ्य सेवा सञ्चालनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा उद्घाटन गर्न लागिएको भन्दै स्थानीयको एउटा समूहले विरोध गरेको थियो।

गाउँपालिका अध्यक्ष अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटालाई उद्घाटनका लागि आमन्त्रण गरेका थिए। कार्यक्रमको तयारी भइरहेका बेला अस्पताल परिसरमा राखिएको शिलालेख तोडफोड भएपछि विवाद थप चर्किएको बताइएको छ।

विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। त्यसपछि प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि प्रहरीले गोली चलाएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले बताएका छन्।

प्रहरीको गोली लागेर फेटा–३ का आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको बताइएको छ। घाइते पासवानलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको जनाइएको छ।

यसैगरी, प्रहरीको लाठीचार्जबाट स्थानीय ५५ वर्षीय लालबाबू साहको टाउकोमा चोट लागेको छ। घटनामा अन्य व्यक्तिसमेत घाइते भएको बताइएको छ।

घाइते किशोरका परिवारले गोली चलाइएको घटनामा गाउँपालिका अध्यक्षको आदेश रहेको आरोप लगाएका छन्। गाउँपालिका अध्यक्ष अन्सारीले भने आफूविरुद्ध एमाले कार्यकर्ता विरोधमा उत्रिएको र घटनामा पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशन रहेको आरोप लगाएका छन्।

घटनापछि आक्रोशित स्थानीयले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै सवारीसाधनमा आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय सिमराबाट थप सुरक्षाकर्मीसमेत घटनास्थल पुगेका छन्।

बारा क्षेत्र नम्बर ३ का सांसद इन्जिनियर अरविन्द साहले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घाइतेको थप उपचारका लागि काठमाडौं लगिएको छ । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै स्थानीयलाई शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

अस्पताल उद्घाटनसम्बन्धी विवादले हिंसात्मक रूप लिएपछि फेटा क्षेत्रमा तनाव कायम रहेको बताइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800