इनरुवा, १२ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा पार्टी सभापति गगनकुमार थापाले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
असोजको अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले यसअघि बडादशैंको फूलपातीका दिन शपथ ग्रहण गर्दै पदबहाली गरेका थिए।
महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका २३१ जना निर्वाचित भएका थिए। बिहीबार सानेपामा आयोजित शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पछि आन्तरिक रूपमा शपथ गराइने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिका केही सदस्यहरूले समारोहमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्। उनीहरूले जुममार्फत शपथ ग्रहण प्रक्रियामा सहभागी हुने जानकारीसमेत समितिलाई गराएको बताइएको छ।