इनरुवा, ११ कार्तिक । विराटनगरका ब्याट्री व्यवसायी ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या तार चोरीको आरोपमा उत्पन्न विवादका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्तसहित तीन जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६, स्वागत चोकका ३६ वर्षीय अफरोज आलम रहेका छन्। उनी विराटनगरको महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए। यस्तै, शव लुकाउन तथा ओसारपसार गर्न सहयोग गरेको आरोपमा १३ वर्षीय भारतीय र १६ वर्षीय नेपाली गरी दुई जना नाबालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए।
भारतको उत्तर प्रदेशस्थित वाराणसी स्थायी घर भएका गुप्ता विगत चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए। उनले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए।
गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजे पसलबाट निस्किएका गुप्ता त्यसपछि सम्पर्कविहीन भएका थिए। दुई दिनपछि कात्तिक ८ गते आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो।
सामान्य विवादपछि हत्या
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गुप्ताको हत्या केही दिनअघिको सामान्य विवादसँग जोडिएको छ। विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले बजारमा कुरा फैलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
आफूलाई चोर भनेर हल्ला फैलाएको भन्दै आलम गुप्तासँग आक्रोशित बनेका थिए। सोही रिसइबीका कारण आलमले शुक्रबार दिउँसो गुप्तालाई आफ्नै घरमा बोलाएको प्रहरीको भनाइ छ।
घरभित्रै दुई जनाबीच भनाभन भएपछि आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको र त्यसबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी मल्लले जानकारी दिए।
हत्यापछि शव लुकाउन आलमले दुई जना नाबालकको सहयोग लिएको प्रहरीको दाबी छ। उनीहरूले शवलाई कार्पेटमा पोको पारेर सुनसरीको केशलिया खोलाको किनारमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कुकुर र प्राविधिक अनुसन्धानबाट अभियुक्तसम्म पुग्यो प्रहरी
केशलिया खोलाको किनारमा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थलमा तालिमप्राप्त कुकुर के–नाइन तथा अपराधस्थल अनुसन्धान टोली परिचालन गरी भौतिक र प्राविधिक प्रमाण संकलन गरिएको थियो।
प्रहरीले संकलित प्रमाण र अनुसन्धानका आधारमा कात्तिक १० गते साँझ मुख्य अभियुक्त आलमलाई पक्राउ गर्न सफल भएको जनाएको छ।
प्रहरीले आलमको साथबाट हत्यामा प्रयोग गरिएको भनिएको एक थान जीआई पाइप, मृतक गुप्ताको रेडमी कम्पनीको मोबाइल फोन तथा शव ओसारपसार गर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।