इनरुवा, १४ कार्तिक । लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ का कार्यवाहक वडा अध्यक्ष जाँहगिर अंसारीलाई उनका दुई छोरासहित पक्राउ गरेको छ।
सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीका कार्यवाहक वडा अध्यक्ष अंसारी र उनका दुई छोरा आदिल अंसारी तथा खालिद अंसारीलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि तीनै जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम भगतले पनि कार्यवाहक वडा अध्यक्ष अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेकी छन्।
उपाध्यक्ष भगतका अनुसार अंसारी चढ्ने सवारीसाधनसमेत हरिनगर प्रहरी चौकीमा राखिएको छ। प्रहरीले के कारणले उनलाई नियन्त्रणमा लिएको हो भन्नेबारे आफूलाई विस्तृत जानकारी नभएको उनले बताइन्।
भगतले कार्यवाहक वडा अध्यक्ष अंसारीले घुस्की बजारमा कपडा पसलसमेत सञ्चालन गर्दै आएको जानकारी दिइन्।