इनरुवा, १८ कार्तिक । सुनसरीको इटहरीमा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार साँझ ५ः३० बजेको समयमा इटहरी उपमहानगरपालिका–४ हलगडास्थित सामुदायिक अस्पताल पछाडि बाटोमा हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
सामुदायिक अस्पताल पछाडि लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोली र सामुदायिक प्रहरी बिट हलगडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका युवकलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा सिरहाको गोलबजार नगरपालिका–६ घर भई हाल इटहरी उपमहानगरपालिका–४ बस्दै आएका २० वर्षीय अबिनाश रौनियार साहको साथबाट ब्राउन सुगरजस्तो देखिने २ ग्राम ५० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ।