इनरुवा, १८ कार्तिक । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको छ। सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्री कार्यालय मातहत राखिएको हो। पछिल्ला विवादास्पद घटनाक्रममा कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाइएको छ।
सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने देखिएपछि सरकारले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सरुवा गर्ने विकल्प अपनाएको बताइएको छ।
कार्कीलाई गत वर्ष कात्तिक २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि जिम्मेवारी सम्हालेका थिए। २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनले उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए।
करिब एक वर्षको कार्यकालमा कार्की विभिन्न विवादमा तानिएका थिए। उनीमाथि निर्वाचन प्रहरीका लागि पोसाक खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेको थियो। त्यस्तै, प्रहरी कमाण्ड कन्ट्रोल कमजोर भएको भन्दै सरकारबाट समेत उनको कार्यसम्पादनमाथि प्रश्न उठाइएको थियो।