इनरुवा, २५ कार्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ का वडा अध्यक्ष तैयब अन्सारीको निधन भएको छ। केही समयदेखि उपचाररत अन्सारीको निधन भएको परिवारजनले बताएका छन्।
अन्सारी २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई हरिनगर गाउँपालिका–६ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनी वडाको विकास निर्माण, स्थानीय सेवा प्रवाह तथा जनताको काममा जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै आएका थिए।
केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका अन्सारीको निधनले हरिनगर गाउँपालिका तथा स्थानीय क्षेत्रमा शोक छाएको छ।
उनको निधनप्रति स्थानीयवासी, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।