

इनरुवा, २१ जेठ । सुनसरी र मोरङबाट १४ सय ६७ किलो गाँजा बरामद गरेको छ । ठुलो परिमाणमा गाँजा ओसापसारमा संलग्न २ जना पक्राउ परेका छन ।
मोरङबाट प्रहरीले बुधबार दिउँसो ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३ सय ४७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक छन् ।
प्रहरीले मंगलबार राति भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामतलाई पक्राउ गरेको थियो । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको सई नीरबहादुर खड्का नेतृत्वको टोलीले राति ११ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।
यता सुनसरी प्रहरीले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना स्थित कटान खोलाको बगरबाट बालुवाले पुरेर लुकाई राखेको १ हजार १ सय २० किलो गाँजा मङ्गलवार राती बरामद गरेको छ ।
लागू औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडिरहेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।
पछिल्लो समय सुनसरी र मोरङ्गबाट ठुलो परिमाणमा गाँजा बरामद हुने गरेको छ ।