इनरुवा, २६ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा सशस्त्र प्रहरी बल (एपीएफ) ले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी र सीमा सुरक्षा गुल्म हेडक्वार्टर कप्तानगञ्जको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो।
देवानगञ्ज गाउँपालिकाको सहयोग तथा सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल पकली, सुनसरीको सहजीकरणमा सञ्चालित शिविरमा ११५ जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक स्वास्थ्य सेवा लिएका छन्।
ग्रामीण तथा सीमावर्ती क्षेत्रका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ।