इनरुवा, २६ असोज ।सुनसरीको बराहक्षेत्र नगरपालिकाले चक्रघट्टिस्थित नगरपालिकाको कार्यालयबाटै भूमि प्रशासन सेवा (मालपोत र नापी) सुरु गरेको छ। नगरपालिकाले भूमि व्यवस्थापन शाखामार्फत औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएपछि जग्गासम्बन्धी विभिन्न कामका लागि इनरुवा र धरान धाउनुपर्ने सेवाग्राहीको बाध्यता कम हुने भएको छ।
नगरपालिकाको भूमि व्यवस्थापन शाखाबाट सेवाग्राहीले भू–संशोधन नियमावली, २०८३ अनुसारका सेवासहित नक्सा प्रिन्ट, कित्ताकाट, फिल्ड रेखांकन, कित्ता एकीकरण र नक्सा अद्यावधिकजस्ता सेवा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, जग्गा रजिस्ट्रेसन (पास), नामसारी, दाखिल–खारेज, लगत कट्टा, जग्गा रोक्का तथा रोक्का फुकुवा, जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण, भू–उपयोग क्षेत्र वर्गीकरण, राजीनामा, हकहिस्सा, दानपत्र, बकसपत्र, अंशवण्डा, अंशभरपाई, दृष्टिबन्धकी, घर कायम तथा नक्साको प्रमाणित प्रतिलिपि वितरणलगायतका सेवा पनि नगरपालिकाबाटै उपलब्ध हुने जनाइएको छ।
सेवा शुभारम्भकै दिन बराहक्षेत्र नगरपालिका–५ का टेकबहादुर सुवेदी र धरान उपमहानगरपालिका–५ की कोपिला पौडेलले पहिलो सेवाग्राहीका रूपमा जग्गा खरिदसम्बन्धी लिखत पारित अर्थात् जग्गा पास गराएका थिए।
नगरपालिकाबाटै मालपोत र नापी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय र आर्थिक खर्च बचत हुने अपेक्षा गरिएको छ। साथै, जग्गासम्बन्धी अधिकांश कामका लागि इनरुवा र धरान पुग्नुपर्ने बाध्यता कम भई स्थानीयस्तरमै सेवा लिन सहज हुने विश्वास गरिएको छ।