

इनरुवा, २० असार । सुनसरी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६९.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। इनरुवा नगरपालिकास्थित नवयुग एकेडेमीका २ जना सहित सुनसरीका विभिन्न विद्यालयका ७ जना विद्यार्थीले उच्चतम ग्रेड ४.०० जिपिए ल्याई उर्तिण भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका अनुसार जिल्लाका ५० परीक्षा केन्द्रमार्फत साधारण नियमिततर्फ बाह्र हजार ५६१ परीक्षार्थीले परीक्षा दिएका थिए। तीमध्ये आठ हजार ७८० जना ग्रेडेड (उत्तीर्ण) र तीन हजार ८११ जना ननग्रेडेड भएका छन्।
ननग्रेडेड विद्यार्थीमध्ये एक हजार ७८१ जनाले एक विषयमा, ७९३ जनाले दुई विषयमा तथा बाँकीले तीन वा बढी विषयमा अनुर्तिण भएका छन ।
इनरुवा नगरपालिकास्थित नवयुग एकेडेमीका सुदिश सुवेदी र प्रज्ञान पोख्रेल सहित ७ जनाले ४ जिपिए ल्याई उर्तिण भएका छन्।
इटहरीस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मिसु प्रधान, ग्रिनपिस एकेडेमीका बिशेष पौडेल र तरहरास्थित पूर्वाञ्चल उच्च माविका सौरभ दाहाल पनि ४.०० जिपिए सहित उत्तीर्ण भएका छन्।
धरानस्थित सैनिक आवासीय माविका प्रज्वल बस्नेत र विष्णु मेमोरियल स्कुलका रूपराज बरालले पनि ४.०० जिपिए ल्याएका छन्।
प्राविधिक धारतर्फ यस वर्ष ४१८ जनाले परीक्षा दिएकोमा ५९.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।