

इनरुवा, २३ भाद्र । सुनसरीको इटहरीमा भएको जेन–जीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । उनीहरुमध्ये २ जनाको मृत्यु भएको हो ।
प्रतिष्ठान स्रोतका अनुसार उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका उनीहरुको चिकित्सकले मृत घोषण गरेका हुन् । घटनाबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रजिअ मिश्रले घाइतेको मृत्यु भएको पुष्टि भइनसकेको बताए ।
सुनसरीको इटहरीस्थित नगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अपरान्ह झडप भएको थियो । झडपछि प्रशासनले इटहरीमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए । त्यसक्रममा प्रहरीले गोली चलाएको हो ।