

इनरुवा, २३ भाद्र । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन्।
सोमबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कफ्र्यु आदेश जारी गरिएको छ। तोकिएको चार किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।
उत्तरः– हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोक भित्र, पूर्व – मिलन चौक देखि जुट विकास भित्र, दक्षिणः– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथश पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्र भित्र र पश्चिम – कलङ्की मोड देखि जनता बस्ती भित्र तोकिएको छ ।