इनरुवा, २३ कार्तिक। सुनसरी जिल्लाका सबै १२ वटै पालिकामा पशुचौपायामा लाग्ने खोरेत रोग (Foot and Mouth Disease) विरुद्धको खोप अभियान सुरु गरिएको छ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आयोजनामा र स्थानीय तहहरूको समन्वयमा अभियान संचालन गरिएको हो ।
केन्द्रका प्रमुख डा. मनोज कुमार महतोका अनुसार कार्तिक २३ गतेदेखि मंसिर २३ गतेसम्म जिल्लाभर निःशुल्क खोप अभियान सञ्चालन भइरहेको छ। उनका अनुसार सुनसरीका एक लाख ८२ हजार गाईभैंसीमा खोरेत रोग विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
डा. महतोले बर्जु गाउँपालिकामा खोप अभियानको शुभारम्भ गर्दै स्थानीय तहहरूले अभियान सफल बनाउन सक्रिय सहयोग गर्नुपर्ने बताएका छन्। “खोरेत रोगले पशुधनीलाई ठूलो क्षति पुर्याउँछ, त्यसैले रोग लाग्न नदिन समयमै खोप लगाउनु अत्यावश्यक छ,” उनले भने।
बर्जु गाउँपालिकाका अध्यक्ष जिवक्ष रायले गाउँपालिकाका १६ हजार गाईभैंसीमा खोप लगाउने कार्य सुरु भएको जानकारी दिए। उनले सबै पशुपालक किसानलाई खोप कार्यक्रममा सहभागी हुन आग्रह गर्दै पालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
डा. महतोका अनुसार सुनसरीका इटहरी, दुहबी, गढी, बराहक्षेत्र, रामधुनी, इनरुवा लगायतका पालिकामा समेत खोप अभियान सुरु भइसकेको छ।
कोशी प्रदेश अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोशी प्रदेशलाई खोरेत रोगमुक्त प्रदेश बनाउने लक्ष्यसहित “खोरेत रोग नियन्त्रण आयोजना” सञ्चालन गरेको जनाएको छ। सोही आयोजनाअन्तर्गत प्रदेशका सबै जिल्लामा कार्तिक २३ देखि मंसिर २३ गतेसम्म खोप अभियान सञ्चालन भइरहेको छ।