इनरुवा, ६ मंसिर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कोशी आधारभूत विद्यालयमा निर्मित अपाङ्गमैत्री भवनको शुक्रबार उद्घाटन गरिएको छ। पूर्वमन्त्री भगवती चौधरी र अन्तर्राष्ट्रिय संस्था चाइल्ड रेस्क्यू नेपाल का कार्यकारी निर्देशक जो वेगाले संयुक्त रूपमा उक्त दुई कोठे विद्यालय भवनको उद्घाटन गरेका हुन्।
साथी नेपालसँगको साझेदारीमा बनेको नयाँ भवनमा ईसीडी कक्षाको लागि दुई कोठा छन्। भवन निर्माण भएपछि विगतमा खुला आकाशमुनि बसेर अध्ययन गर्न बाध्य बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका विद्यालयले जनाएको छ। भवन निर्माणका लागि पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको विशेष पहल रहेको संस्थाका कार्यक्रम संयोजक भीमप्रसाद उपाध्यायले जानकारी दिए।
उद्घाटन समारोहमा पूर्वमन्त्री चौधरीले गुणस्तरीय शिक्षाको आधार बलियो भौतिक पूर्वाधार भएको बताउँदै नयाँ भवन हुदां बालबालिकाहरूले घाम–पानी र हावाहुरी जस्ता जोखिमबाट मुक्ति पाएको उल्लेख गरिन्। उनले दातृ निकाय तथा सहयोगी संस्थाप्रति धन्यवादसमेत व्यक्त गरिन्।
कार्यक्रममा बर्जु गाउँपालिकाका प्रमुख जीवछ राय, चाइल्ड रेस्क्यू नेपालका प्रतिनिधि डा. जोन, कन्ट्री डाइरेक्टर भाष्कर कार्की लगायत अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति थियो।

