इनरुवा, २१ मंसिर । ‘कृषिमा उन्नति, देशको प्रगति’ नाराका साथ इनरुवा नगरपालिका–४ मा रहेको श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन इनरुवा नगरपालिका–४ का वडाध्यक्ष बौवालाल मेहताले गर्नुभयो । उहाँले वडाका युवाहरूले कृषिक्षेत्रमा देखाएको सक्रियता र प्रयासको प्रशंसा गर्दै वडाबाट आवश्यक सहयोग र साथ निरन्तर रहने आश्वासन दिनुभयो ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष राजकिशोर मण्डलले संस्थाको प्रगतिबारे तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उहाँका अनुसार सहकारीमा ७५ जना महिला र ११३ जना पुरुष गरी कुल १८८ जना शेयर सदस्य रहेका छन् । सहकारीको हालको जम्मा ५८ लाख रुपियाँ पुँजी रहेको प्रतिवेदन उल्लेख गर्नु भएको थियो ।
वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमितिका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिको संयोजनमा नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षक समिति चयन गरिएको हो ।
बन्दशत्रमा निर्वाचन समितिद्वारा ११ सदस्यीय नयाँ कार्यसमिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षक समिति गठन गरिएको छ ।
निर्वाचनबाट भीमराज मण्डल कार्यसमितिको अध्यक्षमा र उमेशकुमार मण्डल लेखा सुपरिवेक्षक समितिका संयोजकमा निर्विरोध निर्वाचित भएका छन् ।
इनरुवामा छरिएर रहेको आम्दानीलाई संयोजन, व्यवस्थापन र बचतमा प्रोत्साहन गर्दै सहकारीले स्थानीयको आर्थिक भविष्य सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ ।
