इनरुवा, ३ पुस । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्दै उनलाई रिहा गर्न आदेश गरेको हो। अदालतले सो बराबरको धरौटी रकम बुझाएपछि लामिछाने थुनामुक्त हुने स्पष्ट पारेको छ।
इजलासले लामिछानेको तर्फबाट आफ्नो दायित्व बराबरको विगो राख्न तयार रहेको भनी निवेदन पेस भएको देखिएको उल्लेख गर्दै यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरेको हो।
उच्च अदालतको आदेशपछि हाल नख्खु कारागारमा रहेका लामिछाने धरौटी बुझाएर रिहा हुने छन्।