विराटनगर, २७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ भन्ने भाष्य गलत भएको बताउनुभएको छ। उहाँले संघीयताको वास्तविक पहिचान नै प्रदेश संरचना भएकाले प्रदेशका उपलब्धि र कमजोरीको तथ्यमा आधारित समीक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ।
विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभयो। उहाँले अब गुनासोमा मात्रै सीमित नभई सातै प्रदेशका मुख्यमन्त्री एकजुट भएर प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्न काठमाडौं जाने घोषणा गर्नुभयो।
मुख्यमन्त्री कार्कीका अनुसार मुलुकको कुल चालु खर्चमा प्रदेशको हिस्सा चार प्रतिशतभन्दा केही बढी मात्रै छ। कुल चालु खर्चको ९५ प्रतिशतभन्दा बढी हिस्सा संघ र स्थानीय तहमा रहे पनि प्रदेशलाई मात्र खर्चिलो संरचनाका रूपमा चित्रण गर्नु उचित नभएको उहाँको भनाइ छ।
संघीयता कार्यान्वयनका क्रममा प्रदेशका अधिकार स्पष्ट नहुँदा काम गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै उहाँले आगामी संविधान संशोधनमा प्रदेशका अधिकार क्षेत्र स्पष्ट र द्विविधारहित बनाउनुपर्ने बताउनुभयो। निजामती, प्रहरी, शिक्षा र स्वास्थ्यसम्बन्धी साझा माग सम्बोधन नभएको तथा कार्य विस्तृतीकरण परिमार्जनसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा नआएकोप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
सम्मेलनपछि सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्तासहित काठमाडौं गएर प्रधानमन्त्रीसँग साझा निष्कर्ष प्रस्तुत गर्ने उहाँले बताउनुभयो।
मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तन र लागूऔषध दुर्व्यसनलाई प्रमुख राष्ट्रिय चुनौतीका रूपमा उल्लेख गर्दै नियन्त्रण तथा व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। बाढीपहिरो, हिमताल विस्फोटजस्ता जोखिम न्यूनीकरण गर्न अन्तरप्रदेश सहकार्य र जलवायुमैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ।
त्यस्तै, मुलुकको अर्थतन्त्रलाई गति दिन, रोजगारी सिर्जना गर्न र राष्ट्रिय आय बढाउन कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो। यी क्षेत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुन सके मात्रै द्रुत तथा गुणस्तरीय आर्थिक विकास सम्भव हुने उहाँको धारणा छ।
सम्मेलनलाई औपचारिकतामा सीमित नराखी अन्तरप्रदेश समन्वयका लागि स्थायी वा लचिलो संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव गर्दै मुख्यमन्त्री कार्कीले सम्मेलनबाट तय हुने साझा निष्कर्ष कार्यान्वयन गर्न कोशी प्रदेश प्रतिबद्ध रहेको बताउनुभयो।