इनरुवा, ६ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खसेर मृत्यु भएको छ।
बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवलाई तत्काल उपचारका लागि अस्पतालमै लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
सप्तरीको राजविराज नगरपालिका–जगदरी निवासी यादवले एमबीबीएस अध्ययन पूरा गरी केही महिनादेखि नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गर्दै आएका थिए।
उनी किन र कसरी पाँचौँ तलाबाट खसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। प्रहरीको प्रारम्भिक सूचनाअनुसार यादव मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको बुझिएको छ। तर, यो घटना आत्महत्या हो वा दुर्घटना भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।