काठमाडौं, ९ पुस । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेस जनअभियानबीच कार्यगत एकता गरिएको छ। सोमबार जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा आन्दोलन र सङ्घर्ष अघि बढाउने सहमति गरेका हुन्।
कार्यगत एकता प्रतिबद्धतापत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता जनाइएको छ। साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा समेत संयुक्त रूपमा अभियान सञ्चालन गर्ने सहमति भएको छ।
प्रतिबद्धतापत्रमा हालको संविधानलाई अधुरो, अपुरो, त्रुटिपूर्ण तथा विभेदकारी ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि सङ्घर्ष जारी राख्ने उल्लेख छ। विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्र (State–Nation)को अवधारणा स्थापित गर्न संयुक्त प्रयास गर्ने सहमति पनि गरिएको छ।
यसैगरी राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति गरिएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले कार्यगत एकता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।
