इनरुवा, १६ पुस । इनरुवा नगरपालिकाको निर्णय विपरीत भोली (बिहीबार)देखि संस्थागत विद्यालय सञ्चालन हुने भएको छ।
अत्यधिक चिसो बढेपछि इनरुवा नगरपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द गर्न सूचना जारी गरेको थियो। मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाद्वारा हस्ताक्षरित सूचनाअनुसार अत्यधिक चिसोका कारण पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गर्न सबै विद्यालयलाई अनुरोध गरिएको थियो।
तर संस्थागत विद्यालयहरूको छाता संगठन प्याबसन इनरुवाले नगरपालिकाको उक्त निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। प्याबसन इनरुवाको भर्चुअल बैठकको निर्णयअनुसार पुस १७ गते (बिहीबार)देखि संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ।
जनक स्मृति माध्यमिक विद्यालयको आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचनामा प्याबसन इनरुवाको बैठक निर्णय बमोजिम विद्यालय पुनः सञ्चालन गर्न लागिएको उल्लेख गरिएको छ।
यद्यपि, इनरुवा नगरपालिकाले विद्यालय सञ्चालनसम्बन्धी कुनै नयाँ वा संशोधित सूचना प्रकाशित गरेको छैन। यसअघि पुस १५ गते जारी गरिएको सूचनाअनुसार विद्यालय बन्द गर्ने निर्णय कायमै रहेको अवस्थामा प्याबसनले विद्यालय सञ्चालन गर्ने तयारी गरेपछि अन्योलता सिर्जना भएको छ।
नगरपालिकाको निर्णय र संस्थागत विद्यालयको निर्णयबीच देखिएको यस विरोधाभासले अभिभावक, विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन्।

