इनरुवा, १७ पुस । सुनसरीको लौकहीमा भएको गोलीकाण्डको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकले ५ बुँदे सहमति गरेको छ । सहमति पछि लौकही क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।
घटनाको सत्य–तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । लौकही गोलीकाण्डका विषयमा सुनसरी प्रशासनसँग भएको छलफलपछि सहमति जुटेसँगै सरोकारवाला पक्षले आन्दोलन फिर्ता लिन अपिल गरेका छन् ।
सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिनेछ । साथै मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्न पहल गर्ने र छोरालाई सशस्त्र प्रहरीमा जागिरका लागि आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको छ । काजकिरिया तथा क्षतिपूर्तिबापत सहयोग उपलब्ध गराउने सहमति समेत भएको छ ।
छानबिन प्रतिवेदनमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि भएमा राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको प्रशासनले जनाएको छ ।
त्यसैगरी घटनास्थलमा खटिएको सशस्त्र प्रहरीको टोली फिर्ता बोलाई नयाँ टोली परिचालन गरिने निर्णय पनि भएको छ । सर्वपक्षीय सहमति पश्चात् वार्तामा सहभागी मृतक पक्षका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन तथा प्रदर्शन फिर्ता लिन आग्रह गरेका छन् ।
