इनरुवाको राजाजी माविका लेखा कर्मचारीले छात्रामाथि दुर्व्यवहारको आरोप, विधार्थी आन्दोलित

Logo
Popular News सोमबार, पुष २१, २०८२

इनरुवा, पुस २१ गते। सुनसरीको इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी माध्यमिक विद्यालयमा कार्यरत लेखा कर्मचारी ३७ वर्षीय सुरेश मेहतामाथि विद्यालयकै एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।

कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले परीक्षा फाराम भर्ने क्रममा कर्मचारी मेहताले एकान्तमा बोलाई दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। पीडित छात्राका अनुसार पुस १५ गते विद्यालय परिसरभित्रै उक्त घटना भएको थियो।

घटनाबारे साथीहरूलाई जानकारी गराएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। सोमबार पुस २१ गते विद्यार्थीहरूले इनरुवा नगरपालिकामा घेराउ गर्दै पूर्व–पश्चिम राजमार्गमा केहीबेर टायर बालेर सडक अवरुद्धसमेत गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार हालसम्म लिखित जाहेरी नआए पनि मौखिक जानकारीका आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। उजुरी दर्ता भएमा कानुनी कारबाही अघि बढाइने उनले जानकारी दिए।

उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौधनारायण मेहताका अनुसार विद्यार्थी तथा अभिभावकबाट गुनासो आएपछि पुस २० गते बसेको बैठकले सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। प्रधानाध्यापक रामसागर मेहताले ७२ घण्टाभित्र स्पष्टीकरण नआएमा विद्यालय नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए। हाल आरोपित कर्मचारी विद्यालयको सम्पर्कमा नरहेको जनाइएको छ।

सोमबार दिनभर चलेको आन्दोलनका क्रममा विद्यार्थीहरूले विद्यालयको मुख्य गेटमा तालाबन्दीसमेत गरेका थिए। विद्यार्थी प्रतिनिधिका अनुसार प्रहरीबाट छिटो कारबाही हुने आश्वासन पाएपछि आन्दोलन अस्थायी रूपमा स्थगित गरिएको छ। सुनुवाइ नभए पुनः आन्दोलन तथा विद्यालय बन्द गर्ने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800