इनरुवा, १४ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई संकेत गर्दै दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। झापामा एक अन्तर्वार्ताका क्रममा ओलीले “झापा आएर गुईठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, मलाई थाहा छैन” भन्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक चर्चा भइरहेको छ।
ओलीले दमकलाई ‘एडभान्स सिटी’ को रूपमा प्रस्तुत गर्दै “दमक सफा र व्यवस्थित नगरमध्ये पर्छ। यो महोत्तरी–धनुषा जस्तो अवस्था होइन, त्योभन्दा धेरै एडभान्स छ” भन्ने टिप्पणी गरेका थिए। सोही क्रममा उनले बालेनलाई लक्षित गर्दै दिएको गुईठासम्बन्धी अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक क्षेत्र ततिएको छ।
ओलीको उक्त भनाइपछि झापा क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने गौरीगञ्ज क्षेत्रका स्थानीयले व्यङ्ग्यात्मक रूपमा गुईठा उपहार दिन थालेका छन्। स्थानीयले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहकी श्रीमती सविना काफ्लेलाई गुईठा उपहार दिँदै विरोध तथा व्यङ्ग्य प्रकट गरेका हुन्।
गुईठाको महत्व :
ग्रामीण जीवनशैलीसँग जोडिएको गाईभैँसीको गोबरबाट बनाइने गुइँठा आज पनि घरेलु तथा कृषि प्रयोजनका लागि महत्वपूर्ण ऊर्जास्रोतका रूपमा प्रयोग हुँदै आएको छ। आधुनिक इन्धनको पहुँच बढ्दै गए पनि गुइँठाको प्रयोग पूर्ण रूपमा विस्थापित हुन सकेको छैन।
ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धन, धान सुकाउने, पशुका लागि गोठ तताउने तथा जैविक मलको रूपमा गुइँठाको प्रयोग अझै प्रभावकारी मानिन्छ। विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका लागि गुइँठा सस्तो, सजिलो र स्थानीय रूपमा उपलब्ध इन्धन हो।
कृषि विज्ञहरूका अनुसार गुइँठा जलाएर बाँकी रहने खरानी खेतबारीमा प्रयोग गर्दा माटोको उर्वराशक्ति बढ्ने, कीरा नियन्त्रणमा सहयोग पुग्ने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने गर्छ। यसले रासायनिक मलको प्रयोग घटाउन समेत मद्दत पुर्याउँछ।
त्यस्तै, गाईभैँसीको गोबरबाट गुइँठा बनाउने प्रक्रिया आफैंमा वातावरणमैत्री मानिन्छ। वनजंगलको दाउरा प्रयोग घट्दा वन संरक्षणमा टेवा पुग्ने र कार्बन उत्सर्जन कम हुने विज्ञहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो समय सहरतर्फ एलपी ग्यास र बिजुलीको प्रयोग बढे पनि ग्रामीण भेगमा गुइँठाको महत्व घटेको छैन। “गोबरबाट गुइँठा बनाउँदा फोहोर व्यवस्थापन पनि हुन्छ र घरायसी इन्धनको समस्या पनि समाधान हुन्छ,” एक प्रयोगकर्ताले बताए।
सरकार तथा सरोकारवाला निकायहरूले जैविक कृषि र वैकल्पिक ऊर्जाको प्रवर्द्धनमा गुइँठा तथा गोबरजन्य उत्पादनलाई थप प्रोत्साहन दिनुपर्ने आवाज समेत उठ्न थालेको छ। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउने र दिगो विकासमा पनि योगदान पुर्याउ छ।