सुनसरीमा थप तीन स्थानमा पुष्टि भयो बर्डफ्लू

Logo
Popular News बिहिबार, चैत्र १२, २०८२

इनरुवा, १२ चैत्र । बर्डफ्लू संक्रमण नियन्त्रणका प्रयास जारी रहेको सुनसरीमा थप तीन स्थानमा संक्रमण पुष्टि भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इनरुवा सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार इटहरी–१९ स्थित प्रभु कृषि फार्म, दुहवीस्थित सुनसरी कृषि फार्म तथा इटहरी–१८ मा रहेको साझा ह्याचरीमा पनि बर्डफ्लू संक्रमण फैलिएको पुष्टि भएको हो।

यसअघि इटहरी उपमहानगरपालिकाका विभिन्न ६ स्थान तथा दुहवी नगरपालिका र गढी गाउँपालिकाका एक/एक कृषि फार्ममा बर्डफ्लू देखिएको थियो। पछिल्लो विवरणअनुसार इटहरीका ६ स्थानसहित जिल्लाका कुल ८ कृषि फार्ममा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित फार्महरूमा कुखुरा तथा अण्डा नष्ट गर्ने कार्य सुरु गरिएको छ। इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३ सय अण्डा नष्ट गरिएको छ। गढी गाउँपालिका–५ को संजित कृषि फार्ममा ४२१ स्थानीय कुखुरा, इटहरी–११ को आलम कृषि फार्ममा ५५० ब्रोइलर कुखुरा, इटहरी–१८ को रानी कृषि फार्ममा १हजार ८१० लेयर्स र १२० गिरीराज कुखुरा नष्ट गरिएको छ।

त्यसैगरी इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० लेयर्स कुखुरा र ५२० अण्डा नष्ट गरिएको जनाइएको छ।

प्रमुख महतोका अनुसार संक्रमण फैलिन नदिन पंक्षीजन्य वस्तुको आयात–निर्यातमा नियन्त्रण गरिएको छ। फार्म सञ्चालकहरूले अन्यत्रबाट हालसालै पंक्षीजन्य वस्तु नल्याएको बताए पनि अण्डा तथा दाना ओसारपसार गर्ने सवारी साधनमार्फत संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

नयाँ संक्रमित फार्महरूमा रहेका कुखुरा, अण्डा तथा दाना पनि नष्ट गरिनेछ। साथै प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री–वितरणमा रोक लगाइएको छ।

कुखुरा तथा अण्डा नष्ट गरी खोर पूर्ण रूपमा सफा गरिसकेपछि र त्यस आसपासका क्षेत्रमा पुनः संक्रमण नदेखिएमा मात्र ४२ दिनपछि कुखुरा पालन पुनः सुरु गर्न पाइने व्यवस्था रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800