इनरुवा, ६ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको कुशाहाघाटलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक स्थलका रूपमा उल्लेख गरेका छन् ।
सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित ‘लौकही सिटी हल’ उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुशाहाघाट इतिहास बोकेको प्रजातान्त्रिक क्रान्तिको थलो भएको उल्लेख गर्दै उनले बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा जस्ता धार्मिक स्थलको पर्यटन प्रवर्द्धन गर्न आग्रह गरे ।
जनताका आधारभूत आवश्यकता र जनचाहनाअनुसार विकासका कामलाई तीव्रता दिन स्थानीय तह सक्रिय हुनुपर्नेमा उनले जोड दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्शअनुसार काम गर्दै शान्ति, विकास र सुशासनमार्फत जनताको हित सुनिश्चित गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।
स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुविधा विस्तार तथा विकास निर्माणका कार्य सञ्चालन गर्नु मुख्य दायित्व भएको उनले बताए ।
राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । सम्बोधनका क्रममा उनले सप्तकोशी नदी आसपासको ऐतिहासिक तथा धार्मिक महत्वबारे पनि चर्चा गरेका थिए ।
वि.सं. २०६५ सालमा कोशी बाँध फुट्दा प्रभावित बनेको क्षेत्र अहिले पुनः विकासतर्फ अघि बढेको देख्दा खुशी लागेको उल्लेख गर्दै उनले बाढी तथा विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
