इनरुवा, १३ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका इनरुवा नगरपालिकासहित १० स्थानीय तहमा मंगलबार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा अन्य सार्वजनिक गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। आदेशको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
कर्फ्यु आदेश इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहको पछि नलाग्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।
