इनरुवा, १३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि तनावग्रस्त बनेको जिल्लाको अवस्था सामान्य बनाउन प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। बुधवार बिहानैदेखि इनरुवा लगायत कर्फ्यु लागू गरिएका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई व्यापक रूपमा परिचालन गरिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार राति ९ बजेदेखि इटहरी, इनरुवा लगायत जिल्लाका १० स्थानीय तहमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले घटनाको यथाशीघ्र समाधानका लागि प्रशासन दुवै पक्षसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै जिल्लाको शान्ति–सुरक्षा कायम गर्न सबै संयमित हुन आग्रह गरेका छन्। उनका अनुसार घटनाका कारण जिल्लाका नियमित प्रशासनिक तथा सार्वजनिक गतिविधिसमेत प्रभावित भएका छन्।
आइतबार राति देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको हो। त्यसयता विभिन्न स्थानमा प्रदर्शन, तोडफोड तथा आगजनीका घटना भएका छन्।
सुरक्षा अवस्था नियन्त्रणमा लिन सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई संयुक्त रूपमा परिचालन गरेको छ। हाल सुनसरीको मुख्य राजमार्गसँगै इनरुवा, इटहरी, रामधुनी, दुहबी, कोशी गाउँपालिका, बर्जु, भोक्राहा नरसिंह, हरिनगर तथा देवानगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
सुरक्षाकर्मीहरूले बजार बन्द गराउन आग्रह गरेपछि इनरुवा लगायत अधिकांश बजार क्षेत्र बुधबार बिहानदेखि सुनसान देखिएका छन्। अत्यावश्यक सेवाबाहेक सवारीसाधनको आवागमन पनि न्यून रहेको छ। प्रशासनले सर्वपक्षीय छलफललाई तीव्रता दिँदै अवस्था पूर्ण रूपमा सामान्य बनाउन प्रयास जारी रहेको जनाएको छ।
यसैबीच सरकारले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।