छानबिन समितिमा पूर्व प्रहरी प्रमुख रेग्मी सदस्य रहेकोमा स्थानीयले उठाए प्रश्न

Logo
Popular News बुधबार, साउन १३, २०८३

इनरुवा, १३ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिका सदस्य विपिन रेग्मीको भूमिकामाथि स्थानीयवासीले प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार रेग्मी सुनसरीका प्रहरी प्रमुख रहेका बेला हरिनगर गाउँपालिका–गौतमपुरमा भएको यस्तै प्रकृतिको घटनाको निष्पक्ष छानबिन नभएको आरोप छ। सोही कारण वर्तमान छानबिन समितिमा उनको सहभागिताप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन्।

स्थानीयवासीका अनुसार करिब दुई वर्षअघि गौतमपुरमा भएको घटनामा जीवन मेहता गम्भीर घाइते भएका थिए। उक्त घटनाको अनुसन्धानका क्रममा रेग्मीले वास्तविकता ढाकछोप गर्दै एकपक्षीय रूपमा अनुसन्धान अघि बढाएको आरोप उनीहरूको छ।

स्थानीयको दाबीअनुसार त्यसबेला पीडित पक्षका ३६ जना हिन्दु समुदायका व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको थियो। उनीहरूले मुस्लिम समुदायलाई संरक्षण गरिएको तथा घटनाको निष्पक्ष अनुसन्धान नभएको आरोपसमेत लगाएका छन्।

कप्तानगञ्ज गोलीकाण्डको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका विपिन रेग्मी, सशस्त्र प्रहरी बलका विक्रम होमागाई तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शालीग्राम भण्डारीलगायत सदस्य रहेका छन्।

यसैबीच, समितिप्रति असन्तुष्टि जनाउँदै कप्तानगञ्जका स्थानीयवासीले विरोधसमेत गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष, पारदर्शी र प्रभावमुक्त छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

स्थानीयको भनाइमा छानबिन समिति कुनै पनि व्यक्ति वा पक्षको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्छ। तर, समितिमा विपिन रेग्मी सदस्य रहेकाले निष्पक्ष छानबिन हुनेमा आफूहरूलाई शंका रहेको उनीहरूले बताएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800