इनरुवा, १४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि विकसित परिस्थितिबारे जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार आयोजित सर्वदलीय बैठकमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले सरकार र प्रशासनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्की, पूर्वाधार मन्त्रीका स्वकीय सचिव पारस क्षेत्री, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ४ का प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भएको बैठकमा अध्यक्ष मेहताले सरकारले घटनाप्रति देखाएको चासो अपर्याप्त रहेको बताए।
उनले गृहमन्त्री अहिलेसम्म घटनास्थलमा नपुगेकोप्रति प्रश्न उठाउँदै भने, “गृहमन्त्री स्वयं आएर सम्बोधन गरेको भए परिस्थिति सहज हुन्थ्यो। चार दिन बितिसक्यो, अझै किन आउनुभएन?”
मेहताले घटनापछि पीडितले राज्यबाट अपेक्षित सहयोग नपाएको उल्लेख गर्दै “काठमाडौंमा बसेर समस्या समाधान हुँदैन। घटनास्थलमै पुगेर पीडितको पीडा सुन्नुपर्छ,” भने।
उनले आफूले पटक–पटक सम्पर्क गर्दा तत्कालीन प्रमुख जिल्ला अधिकारीले फोनसमेत नउठाएको आरोप लगाउँदै प्रशासनको भूमिकामाथि प्रश्न उठाए। “जनतालाई सुशासनको प्रत्याभूति दिने यही हो? केवल प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको सरुवा गरेर मात्र समस्या समाधान हुँदैन,” उनले भने।
अध्यक्ष मेहताको अभिव्यक्तिले घटनामा तत्कालीन प्रशासन र सुरक्षा संयन्त्रको कमजोरी रहेको संकेत गरेको भन्दै स्थानीयवासीले समेत निष्पक्ष छानबिन र जिम्मेवार निकायको जवाफदेहिताको माग गरिरहेका छन्।
यसैबीच, घटनापछि जिल्लाको अवस्था सामान्य बनाउन सुरक्षा परिचालन, छानबिन समिति गठन तथा सर्वदलीय संवादलाई तीव्र बनाइएको छ। स्थानीयवासीले भने संघीय सरकारको शीर्ष राजनीतिक नेतृत्व स्वयं घटनास्थलमा पुगेर प्रभावित समुदायलाई विश्वासमा लिनुपर्ने माग गरेका छन्।
बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यसहित पाँचबुँदे संयुक्त प्रतिबद्धता पनि सार्वजनिक गरेको छ।
प्रतिबद्धतामा घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
साथै साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन, संवादमार्फत समस्या समाधान गर्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरिएको छ।
सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अपुष्ट सामग्री नफैलाउन, आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न तथा जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न पनि आग्रह गरिएको छ।
प्रतिबद्धतामा पछिल्ला प्रदर्शनमा किशोर तथा युवाको सहभागिता बढेको उल्लेख गर्दै अभिभावकलाई विशेष जिम्मेवार बन्न आग्रह गरिएको छ। युवालाई अनावश्यक भिडभाड तथा सम्भावित झडपमा सहभागी हुन नदिन निगरानी गर्न अपिल गरिएको छ।
बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा सर्वसाधारणबीच सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।