इनरुवा, १९ साउन । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको छ।
आइसीयूमा उपचाररत मेहताको निधन भएपछि उनका आफन्तहरूले शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरुङ अस्पताल नआउँदासम्म शव नबुझ्ने अडान लिँदै उनीहरू धर्नामा बसेका छन्।
आफन्तहरूको आरोपअनुसार घटनापछि हालसम्म कसैलाई पक्राउ गरिएको छैन। छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने सुरक्षाकर्मीमाथि कुनै कारबाही वा निलम्बन नभएको तथा राज्यले केवल सम्झौतामार्फत घटनालाई मत्थर पार्न खोजेको उनीहरूको भनाइ छ।
रविन्द्र मेहताको मृत्यु भएसँगै देवानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। घटनाप्रति न्यायिक छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग आफन्तहरूले दोहोर्याएका छन्।