भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री मेहताद्वारा स्थलगत अनुगमन

Logo
Popular News बुधबार, भाद्र १७, २०८३

काठमाडौं, १७ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था र स्थानीय नागरिकका स्वास्थ्य आवश्यकताबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नुवाकोटको विदुर नगरपालिका तथा आसपासका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेकी छन्।

अनुगमनका क्रममा मन्त्री मेहताले विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढी प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार र चन्द्रज्योति माध्यमिक विद्यालय पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएकी थिइन्।

मन्त्री मेहताले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग भेटेर उपचार व्यवस्थाको अवस्थाबारे समेत जानकारी लिएकी छन्।

प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धताबारे जानकारी लिँदै आवश्यकता अनुसार थप औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको परिचालन, घाइते तथा बिरामीको उपचार, सम्भावित सरुवा रोगको जोखिम न्यूनीकरण तथा विपद्का कारण प्रभावित नागरिकमा पर्न सक्ने मानसिक स्वास्थ्य र मनोसामाजिक समस्यालाई सम्बोधन गर्न उपलब्ध मनोपरामर्श सेवाको अवस्थाबारे समेत जानकारी लिइएको मन्त्रालयले जनाएको छ।

विपद्का कारण प्रभावित नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा स्रोत व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800