इनरुवा, २ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको नोजमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी अन्दाजी २३ वर्षीय ओसन कोइराला रहेका छन्।
कोइराला आइतबार साँझ करिब ५ बजे सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। उनको खोजीका लागि खटिएको गोताखोर टोलीले सोमबार बिहान करिब ८ बजे नदीबाट शव निकालेको हो।
शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने तयारी गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।