इनरुवा, २ कार्तिक । बडादशैँको महानवमीका दिन आज सुनसरीको इनरुवास्थित भगवती मन्दिरमा महिलाहरूले परम्पराअनुसार खोँचा भराई पूजा गरेका छन्।
आफ्नो घरपरिवार तथा छोराछोरीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरूले विधिपूर्वक खोँचा भराई पूजा गरेका हुन्। तराई–मधेश क्षेत्रमा विशेष प्रचलनमा रहेको यो धार्मिक परम्परा महानवमीका दिन श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।
विशेषगरी विवाहित महिलाहरू रातो वस्त्रमा सजिएर रातो कपडामाथि पान, सुपारी, फलफूल, मिठाई, चामल, चना, दूबो र पैसा लगायतका पूजासामग्री राखेर खोँचा तयार गर्छन्। त्यसपछि ती सामग्रीको पोको बनाएर दुर्गा भवानीको चरणमा चढाउने धार्मिक परम्परा रहेको छ।
खोँचा भराईका क्रममा महिलाहरूले आफूले देवीको खोँचा भरेझैँ आफ्नो मनोकामना पनि पूरा गरिदिनुहुन प्रार्थना गर्छन्। परिवारको सुखसमृद्धि, सन्तानको सुस्वास्थ्य तथा दीर्घायु र घरमा सुखशान्ति कायम रहोस् भन्ने कामनासहित उनीहरूले दुर्गा भवानीको पूजा आराधना गर्ने गर्छन्।
महानवमीका दिन इनरुवाको भगवती मन्दिरमा खोँचा भराईका लागि पुगेका महिलाहरूको पूजाआजाले धार्मिक आस्था र पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ। तराई–मधेश क्षेत्रमा प्रख्यात रहेको खोँचा भराई परम्पराले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ।