इनरुवा, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ को केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापति पदको निर्वाचन केहीबेरमा सुरु हुने भएको छ।
निर्वाचन आज बिहीबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म इनरुवा–३ स्थित ॐ साइ पार्टी प्यालेसमा सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।
नेपाली कांग्रेस इनरुवाका नगरसभापति योगेन्द्रप्रसाद मेहताका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिहरू मतदानस्थलमा उपस्थित हुन थालेका छन्।
निर्वाचनस्थलमा उम्मेदवारका पोस्टर तथा प्रचार सामग्री राखिएका छन् भने क्षेत्रीय प्रतिनिधिहरूको चहलपहलसमेत बढेको छ। निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ।
सुनसरी क्षेत्र नम्बर २ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापति पदका लागि निर्वाचन हुन लागेको हो।




