इनरुवा, १७ असोज। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले आगामी असोज १९ गतेदेखि बालबालिकाका लागि निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
केन्द्रले पुष्य नक्षत्रको अवसर पारेर असोज १९ गते सोमबार विशेष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा १ देखि ५ वर्षमुनिका बालबालिकालाई सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. उमेश कुमार मेहताका अनुसार असोज १९ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म केन्द्रको कार्यालयमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुने बालबालिकालाई निःशुल्क रूपमा स्वर्णबिन्दु प्राशन गराइनेछ।
आयुर्वेदिक परम्पराअनुसार पुष्य नक्षत्रलाई औषधि सेवन तथा स्वास्थ्यसम्बन्धी संस्कारका लागि शुभ मानिन्छ। यही मान्यताका आधारमा पुष्य नक्षत्रको अवसरमा स्वर्णबिन्दु प्राशन कार्यक्रम आयोजना गरिँदै आएको छ।
स्वर्णबिन्दु प्राशन आयुर्वेदमा विशेष विधिबाट तयार गरिएको स्वर्णयुक्त औषधीय मिश्रण बालबालिकालाई निश्चित मात्रा र विधिअनुसार सेवन गराउने परम्परागत अभ्यास हो। यसले बालबालिकाको समग्र विकास, रोग प्रतिरोधात्मक क्षमता, स्मरणशक्ति तथा शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने आयुर्वेदिक मान्यता रहेको छ।
केन्द्रले अभिभावकलाई आफ्ना १ देखि ५ वर्षमुनिका बालबालिकालाई कार्यक्रममा सहभागी गराई निःशुल्क सेवाको लाभ लिन आग्रह गरेको छ।