इनरुवा, १७ असोज। नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सम्पन्न निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै जिल्ला निर्वाचन अधिकृतसमक्ष ज्ञापनपत्र बुझाइएको छ।
निर्वाचन प्रक्रिया सम्पन्न भएको लामो समय बितिसक्दा पनि मतगणना सुरु हुन नसकेपछि क्षेत्रीय सभापतिका उम्मेदवार गफार अन्सारी पक्षले शीघ्र मतगणनाको माग गरेको हो।
क्षेत्रीय सभापतिका उम्मेदवार गफार अन्सारी, सचिव पदका उम्मेदवार युवराज दाहाललगायत नेता तथा प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी जिल्ला निर्वाचन अधिकृत भरत थापालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको समेत सहमति र हस्ताक्षर रहेको जनाइएको छ।
लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान सम्पन्न भइसकेको अवस्थामा मतगणनामा भइरहेको ढिलाइले पार्टीका नेता तथा कार्यकर्तामाझ भ्रम र अन्योल सिर्जना गरेको ज्ञापनपत्र बुझाउने पक्षको भनाइ छ।
उनीहरूले निर्वाचनको निष्पक्षता र पारदर्शिता कायम राख्दै तत्काल मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै जिल्ला निर्वाचन अधिकृत भरत थापाले कानुन र निर्वाचन आचारसंहिताको दायराभित्र रहेर यथाशीघ्र मतगणना सुरु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।